चितवन । चितवनका सहकारी संस्था स्थानिय तहमा हस्तान्तरण भएका छन् । स्थानीय तहमा कार्यक्षेत्र रहने गरी स्थापना भएका सहकारी संस्थाहरू सम्बन्धित स्थानीय तहमा हस्तान्तरण भएका हुन् । चितवनका क्रियाशील ७ सय ४ सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण भएका छन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायतको उपस्थितिमा सोमवार आयोजित कार्यक्रम मार्फत जिल्लाका ७ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको छ । सबै स्थानिय तहका सहकारी शाखा प्रमुखलाई सहकारीको अभिलेख हस्तान्तरण गरिएको हो ।
सहकारी ऐन २०७४ को प्रावधानअनुसार सहकारी स्थानीय तह हस्तान्तरण गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका सहकारी प्रशिक्षक पुण्य प्रसाद पौडेलले जानकारी दिनुभयो । सहकारीको अधिकार स्थानीय तहमा गएकाले अब देखि सहकारी दर्ता, नवीकरण, अनुगमन, नियमन र प्रवद्र्धनको सम्पूर्ण काम स्थानीय तहबाटै हुने उहाले वताउनुभयो ।
हस्तान्तरण गरिएका मध्य संघ अन्तर्गत २, प्रदेश अन्तर्गत ८७ र स्थायिन तह अन्र्तगत ६ सय १५ रहने पौडेलले जानकारी दिनुभयो । एक जिल्ला भन्दा वढी जिल्लामा कारोवार गर्ने सहकारी संघ मातहत रहन्छन् भने एक स्थानिय तह भन्दा वढी क्षेत्रमा रहेर कारोवार गर्ने सहकारी प्रदेश सरकार मातहत रहने प्रावधान रहेको छ । भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै ३ सय २ सहकारी र सबैभन्दा कम इच्छाकामना गाँउपालिकामा २४ सहकारी छन् । यस्तै खैरहनी नगरपालिकामा ६१, राप्ती नगरपालिकामा ४७, कालिका नगरपालिकामा ३३ र माडी नगरपालिकामा ४४ वटा सहकारी क्रियाशिल छन् ।
बचत तथा ऋण, कृषि, विद्युत, उपभोक्ता, स्वास्थ्य, बहुउद्देश्यीय, तरकारी बीउ उत्पादन, पशुपालन, दुग्ध, माहुरीपालन, सामाजिक उद्यमीलगायतका सहकारी संस्थाहरू स्थानीय तहमा हस्तान्तरण भएका हुन् । यसअघि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरले सहकारी दर्ता, नवीकरण, अनुगमन र नियमनको काम गर्दै आएको थियो ।
सहकारी हस्तान्तरण संगै अब सहकारी दर्ता, नवीकरण स्थानिय तहबाटै हुने भएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरलाई अब शहकारी प्रशिक्षण केन्द्र बनाउन प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०७४