काठमाडौँ । कृषि विकास बैंकमा भएको पाँच करोड घोटाला काण्डकी मुख्य आरोपी जेल चलान भएकी छन् । सहायक टेलर दीपिका रेग्मीलार्इ अदालतको आदेशमा बुधबार कारागार कार्यालय नख्खु चलान गरिको हो ।
उच्च अदालत पाटनको न्यायाधीशद्वय नीता गौतम दीक्षित र शेखरप्रसाद पौडेलको संयुक्त इजलासले उनलार्इ पूर्पक्षका लागि थानामा पठाउने अादेश दिएको हो । बैंकको रामशाहपथस्थित मुख्य कार्यालयबाटै पाँच करोड रुपैयाँ घोटाला गरेको आरोपमा नेपाली सेनाका प्राविधिक सहायक रथी डा.रमेशराज बिष्टसहित ६ जना कर्मचारी र एकजना ब्यापारी मंसिर १६ पछि विभिन्न मितिमा पक्राउ गरिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब मिलान गर्दा रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी रेग्मी र उनकी आमासहित १० जनालाई पक्राउ गरेको थियो ।
उच्च अदालतले कर्मचारीहरु प्रेमहरी ढुंगेलसँग १ करोड, गोपाल गिरीसँग ५० लाख , महेश्वर मरहठ्ठा र सलिल रेग्मीसँग जनही २५ लाख, तारानाथ पाण्डेसँग एक लाख र ब्यापारी प्रकाश घतानीसँग पाँच लाख धरौटी मागेको छ । रमेशकुमार थापालाई साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ।
दीपिकाकी आमा पुष्पा पन्त रेग्मी अदालतमा हाजिर भएकी छैनन् । अदालतले सहायक रथी बिष्टलाई सेनाको आन्तरिक अनुसन्धान सकिएपछि कारवाही हुने आदेश दिएको छ।
ब्युरोको अनुसन्धानमा अन्तर शाखा कारोबारमा हिसाब मिलान भएको रकम मौज्दात रहेको देखाएर बैंकबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ । अनुसन्धानमा रकम घोटाला गर्न बैंकका न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य योजना देखिएको थियो ।
ब्युरोलाई नेपाल राष्ट्र बैंकले थप अनुसन्धानको जिम्मेबारी दिएपछि आर्थिक अपराध हेर्ने पिलर २ ले अनुसन्धान थालेको थियो । घटना अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये करिब ७० लाख रुपैयाँ सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डा.रमेशराज बिष्टको बैंक खातामा जम्मा भएको देखिएको हो।
फौजदारी कसुर कर्तव्य ज्यान र जर्बजस्ती करणी बाहेकका कसुरमा संलग्नताको आरोप लागेका नेपाली सेनाका कर्मचारीलाई सैनिक ऐन २०६३ अनुसार नेपाली सेनाले आफैँ कोर्टमार्शल गर्ने गर्दछ । अहिले बिष्टलाई सेनाको उपत्यका पृतनाबाट अनुसन्धान भै रहेको छ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४