चितवन । चितवनमा माघ २५ गतेदेखी सुरु हुने तेस्रो डिजीकम क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनले आज (मंगलवार) पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
मेलामा बिशेष गरेर नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने सो मेलामा स्मार्ट सिटीलाई आधार मानेर तयार पारिएका प्रविधि प्रर्दशनी,ल्याप्टप,प्रिन्टर र डेक्सटपको फ्रि सर्भिस क्याम्प,ल्याप्टप कम्प्युटर खरिदमा विशेष छुट,स्मार्ट होम सम्वन्धी सामाग्रीको प्रर्दशनी,आइटी सेमिनार,इन्टर कलेज क्वीज प्रतियोगिता,अनुभव आदन प्रदान कार्यक्रम,सामाजिक संजाल र व्यापार सम्वन्धी गोष्ठी आयोजना गरिएको छ ।
मेलामा चितवनका १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ–नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । जसवाट घर,सडक,सिकाई प्रणाली र बजारलाई सूचना प्रविधिको माध्यामवाट स्मार्ट सिटी कसरी बनाउन सकिन्छ,भन्ने कुरा प्रत्यक्ष देख्न र सिक्न सकिने मेला मूल व्यवस्थापन समिति संयोजक एवंम संघका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो । यसपटकको क्यान इन्फोटेक मेला ल्यापटप र पेनड्राइभ किन्ने मेला मात्रै नभई प्रविधि हेर्ने र नयाँ कुरा सिक्नेखालको हुने शर्माले बताउनुभयो ।
प्रविधिमा रुचि राख्ने सवैले मेलाको अवलोकन गर्नुपर्ने शर्माको भनाई छ । मेलाले सूचना प्रविधिको समुन्नत विकासमा सहयोग पुर्याउने उहाँले वताउनुभयो । मेलामा सनराइज बैंकले टिकट लिई प्रवेश गर्ने दर्शक तथा क्रेतालाई ४०० प्रतिशतसम्म क्यास ब्याक अफर प्रदान गर्ने भएको छ । सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीलाई विद्यालयको पत्रका आधारमा निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने शर्माले वताउनुभयो ।
उहाँले सूचना र सञ्चार प्रविधिलाई पूर्वाधारका रुपमा विकास गर्न अनुभव साटासाट गरिने बताउनुभयो । मेलामा देशभरका सूचना प्रविधिका कम्युटर, मोवाइल, ल्यापटप, स्मार्ट टीभी , सफ्टवेयर लगायतका ८० वटा स्टलहरु रहने छन् । यस्तै सूचना प्रविधि सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोवोटिक प्रर्दशनी र गेमिङ्गका स्टलहरु रहने क्यानले जनाएको छ ।
क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी समेत लिन सकिने छ । साथै टेलिभिजन मोबाइल, कम्प्युटर, ल्यापटप तथा बिभिन्न सफ्टवेयर र हार्डवेयरहरुको खरिद बिक्री समेत मेलामा हुनेछ । २५ देखि २९ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा क्यान इन्फोटेक मेला संचालन हुन लागेको हो ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०७४