काठमाडौँ । आयल निगमले बूढीगण्डकी जलविद्युत् आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ । उसले मासिक ७०–८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकीमा संस्थागत सेयर माग गरेको जनाएको छ ।
निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत् आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएकोभन्दै उनले १० वर्षको अवधिमा अायोजनाको लागतको करिब ५० प्रतिशत रकम जम्मा गर्न सक्ने दाबी गरे । उनले यही अाधार देखाएर अायोजनाको शेयर निगमलार्इ दिनुपर्ने माग गरे ।
सञ्चय कोषले पनि लगानी गरिरहेकाले सोही मोडलमा निगमले सेयर माग गरेको उनको भनाइ छ । सेयरबारे निगमले सम्बन्धित मन्त्रालय (आपूर्ति) मा पत्राचार गरिसकेको छ । ‘निगम नाफा–घाटा जुन अवस्थामा भए पनि भुक्तानी गर्नुपर्ने अवस्था देखिएकाले निगमले बुझाउँदै जाने रकमबाटै उक्त आयोजनाको २५ प्रतिशत सेयर उपलब्ध गराई निगमको आर्थिक स्थिति सबल बनाउनेतर्फ आवश्यक पहल गरिदिनुहुन अनुरोध छ,’ निगमले आपूर्ति मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ ।
बूढीगण्डकी आयोजना १२ सय मेगावाटको हो । यसको लागत करिब २ खर्ब ८० अर्ब लाग्ने अनुमान गरिएको छ । इन्धनको खपत बर्सेनि बढ्दै गएकाले १५ वर्ष अवधिमा करिब २ खर्ब रुपैयाँ संकलन गर्न सकिने निगमको दाबी छ । बूढीगण्डकी बनाउन भन्दै सरकारले आर्थिक वर्ष ०७२/७३ जेठ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १६ अर्ब १५ करोड रुपैयाँ संकलन भएको निगमले जनाएको छ ।
निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १६ करोड, ०७३/७४ मा ९ अर्ब ४३ करोड रुपैयाँँ संकलन भएको थियो । ०७४/७५ को माघ १७ सम्म ५ अर्ब ५६ करोड रुपैयाँँ संकलन भएको उनले बताए । ‘०७२/७३ जेठदेखि ०७४/७५ को माघ १७ सम्म १६ अर्ब १५ करोड रुपैयाँ संकलन भएको छ,’ साहले भने ।
हाल आयात गरिएको इन्धनमा भन्सार विन्दुमै पूर्वाधार कर (बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि) शीर्षकमा कर लाग्छ । सोहीअनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय) मा प्रतिलिटर ५ रुपैयाँँको दरले पूर्वाधार कर लगाउँछ । मटितेल र एलपी ग्यासमा भने शुल्क उठाउँदैन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार विन्दुमै प्रतिलिटर ५ रुपैयाँँका दरले पूर्वाधार कर लगाउने निर्णय गरेको थियो । सोहीअनुसार निगमले बजेट भाषणको भोलिपल्ट (जेठ १६ गते) देखि रकम संकलन गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४