काठमाडौं । विगत दुर्इ मिहनामा इन्धनको मूल्यवृद्भि पाँच पटक बढिसकेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले हरेक १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ।
निर्वाचन अगाडि निगमले मूल्य बढाउँदा मूल्यवृद्धि फिर्ता गराएको सरकारले त्यसपछि मूल्य वृद्धि रोक्न भने कुनै चासो दिएको छैन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएको दाबी गरिरहेको छ। निर्वाचनअघि मूल्य वृद्धि गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल फिर्ता गर्न लगाएका थिए। तर, निर्वाचनपछि आपूर्तिमन्त्री जयन्त चन्दको स्वीकृति लिएर निगम व्यवस्थापले मूल्य वृद्धि गरिरहँदा प्रधानमन्त्री देउवाले चासो दिइरहेका छैनन् ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट मूल्य बढेर आएका कारण नेपाली बजारमा समेत इन्धनको भाउ वृद्धि गर्नुपरेको दाबी गर्दै अाएका छन् । ‘आइओसीबाट मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाउनु स्वाभाविक हो। हामी स्वचालित मूल्य प्रणाली लागू गर्न पनि चाहन्छौं,’ उनले भने । मूल्य बढाए पनि निगमले भने घाटा नै खाइरहेको उनको भनाइ छ।
निगम प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार मूल्य वृद्धि गरेपछि निगमलाई आगामी १५ दिनसम्म १४ करोड ९२ लाख रुपैयाँ नोक्सान हुने बताए।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ ठूलो दरमा घट्दा निगमले चर्को नाफा राखेर मूल्य नघटाएको निकगमले मूल्य बढ्दा मात्र बढाइरहेको अारोप लगाए ।
‘मूल्य घटाउनुपर्ने बेला निगमले चर्को नाफा राखेको थियो। अहिलेचाहिँ अन्तर्राष्ट्रिय बजारभाउको हवाला दिएर मूल्य बढाउनु तर्कसंगत हुँदैन,’ उनले भने।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४