चितवन । आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा भन्दा यस वर्षको पुस मसान्तसम्ममा दुई अर्ब ४१ करोड ७९ लाख चार हजार रुपैयाँ बढी राजस्व संकलन गरेको हो । कार्यालयले लक्ष्यभन्दा १० प्रतिशत बढी रकम संकलन गर्न सफल भएको हो ।
चालू आर्थिक वर्ष २०७४÷७५ को पुस महिनासम्ममा अन्तःशुल्कबाट सबैभन्दा बढी सात अर्ब ८८ करोड ३४ लाख नौ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा बैंकहरुले तिर्ने ब्याज कर लक्ष्यभन्दा पनि थोरै संकलन भएर ४६ करोड ६९ लाख चार हजार रुपैयाँ मात्रै संकलन भएको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आव २०७४÷७५ मा कार्यालयले १९ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । कार्यालयले चितवन र नवलपुर क्षेत्रको राजस्व संकलन गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४