७ पुस, अर्घाखाँची । जिल्लाको ढिकुराको माहुरीपालक कृषक शुभप्रकाश खनाल अचेल माहुरीको स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । मौरीपालन शुरु गर्नुभन्दा पहिले उहाँ भारतमा मजदुरी गर्नुहुन्थ्यो । खनालले एक हप्तामा आधुनिक घारबाट पाँच किलो मह काढ्नुुहुन्छ । मुढे घारमा भन्दा आधुनिक घारमा बढी मह उत्पादन हुने उहाँ बताउनुहुन्छ । खनालसँग अहिले ४२ आधुनिक घार र १० वटा मुढेघार रहेका छन् । “दुई क्विन्टल मह उत्पादन गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो । मौरीपालन व्यवसायबारे जानकारी लिन विभिन्न जिल्लाबाट कृषक उहाँको घरमा आउने गरेका छन् । विसं २०४५ देखि खनालले सो व्यवसाय शुरु गर्नुभएको हो ।
“व्यवसाय शुरु गरेको तीन वर्षमै सबै घार रित्तिए, हतार नगरीकन बसेँ, विस्तारै व्यवसाय फस्टाउँँदै गयो,” उहाँले विगत सुनाउनुभयो । उहाँ जिल्लाकै नमूना कृषक हुनुहुन्छ । उहाँले पशुपालन, तरकारीखेती, फलफूल खेती र कफी खेती समेत गर्दैआएनुभएको छ । जिल्लामै पहिलोपटक मौरीपालन व्यवसाय शुरु गर्नुभएका खनालले अहिलेसम्म सरकारी अनुदान पाउनुभएको छैन ।
जिल्लामा अहिले वार्षिक नौ मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरलाल गैरेले बताउनुभयो । यसबाट रु ९० लाख आम्दानी भएको छ । जिल्लाका ठाडा, ढिकुरा, धनचौर, नुवाकोट, अर्घातोष र सुवर्णखाललाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४