काठमाडौँ । काठमाडौँमा रहेको एक मेनपावर कम्पनीले केहिदिन अघि सयौं युवाहरुलाई बैदेशिक रोजगारीका लागि भन्दै अन्तर्वार्ता गर्यो । बैदेशिक रोजगार विभागसँग स्वीकृति लिदा निशुल्क भनिएको सो अन्तर्वार्तामा सहभागीहरुसंग लाखौं उठाउने गरिएको गुनासो आजको न्युजलाई प्राप्त भयो । सो मेनपावरले निशुल्क रोजगारीको अवसर भन्दै सूचना दिएको र विभागसँग पनि स्वीकृति लिँदा निशुल्क भनि लिएको भएपनि प्रत्येक युवासंंग १ लाख ८० हजार देखि बढिमा २ लाख ५० हजार सम्म रकम असुली गरिएको पाइएको छ ।
निशुल्क रोजगारीको अवसर भन्ने सूचनाका आधारमा अन्तर्वार्ता दिन गएकाहरुबाट लाखौं रकम असुल्ने प्रपन्च गरिएपछि सहभागी धेरै युवाहरु आफु ठगिएको महसुश गर्दै आजको न्युजमा गुनासो बोकेर आएका थिए । निशुल्कको नाममा भइरहेको मेनपावरको ठगी बारे सुरुमा त हामीले गुनासोकर्तालाई विभागमै उजुरी गर्न भन्यौं । ठगिएका मध्ये धेरैले विभागमा लिखित उजुरी पनि दिए । तर विभागका तर्फबाट कुनै सुनुवाई नभएपछि फेरि ती युवा युवति आजको न्युजको सम्पर्कमा आए ।
लिखित उजुरी गर्दा पनि सुनुवाई नभएको गुनासो गरेपछि आजको न्युजले बैदेशिक रोजगार विभागमा बुझ्ने प्रयत्न गर्यो । जस अनुसार हामीले सबैभन्दा पहिले ठगिएका युवाहरुको गुनासो सुनाउन बैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँका सूचना अधिकारी गुरुदत्त सुवेदीलाई २०८० असाढ ४ गते दिउसो १ बजेर २१ मिनेटमा विभागको वेवसाइटमा दिइएको नम्बर ०१ ४७९२६१६ मा सम्पर्क गर्यौं। पटक- पटक सम्पर्क गर्दा पनि वेवसाइटमा दिइएको निजको नम्बरमा कुनै सम्पर्क नै भएन । त्यसपछी हामीले विभागकै महाप्रबन्धक मदन दहालको लागि भनेर तोकिएको वेवसाइटको नम्बर ०१ ४७९२६७१ मा सम्पर्क गर्यौं । दहालका लागि तोकिएको नमबरमा पनि पटक पटक सम्पर्कको प्रयास गर्दा पनि सम्भव भएन ।

जिम्मेवार दुवैजनाको नम्बरमा सम्पर्क हुन नसेपछि हामीले विभागकै अनुगमन तथा अभिमुखिकरण शाखाका शाखा अधिकृत धर्मराज लम्साल र नायव सुब्बा भुपेन्द्र अधिकारी लाई सोहि मितीको १ बजेर २७ मिनेटमा पटक-पटक सम्पर्कको प्रयास गर्यौं । र त्यो प्रयास पनि सफल हुन सकेन । उल्लेखित ४ जना जिम्मेवार व्यक्तिहरुको फोन घण्टी जाने तर रिशिभ नहुने । कुनै फोन चाही पहिलो घण्टीमा कट हुने देखिएको थियो ।
विभागका कुनैपनि व्यक्तिको फोन पटक-पटकको प्रयासमा पनि सम्पर्क हुने नसकेपछि हामीले श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता ढण्डीराज घिमिरेलाई सोही दिन दिनको १ बजेर ३० मिनेटमा सम्पर्क गर्दा फोन अफ रहेको जानकारी आयो ।

यसरी एउटा मेनपावर कम्पनीले गरेको असुली धन्दाबारे गुनोसो पुर्याउन खोज्दा त्यो सफल हुन सकेन । दुईचारवटा प्रयास गर्ने बितिकै सम्पर्क नहुनुलाई त्यति अन्यथा मान्न खोजिएको पनि होइन । तर एक जनाको होइन विभागका सबै जिम्मेवार व्यक्तिहरुका लागि वेवसाइटमा तोकिएको कुनैपनि फोन नम्बरमा सम्पर्क नहुुनु चाहिं आश्चार्यजनक र दुखद हो । राज्यको जिम्मेवार निकाय जसले बैदेशिक रोजगारीका समग्र बिषयमा भूमिका निर्वाह गर्दछ । गुनासो सुन्ने, अनुगमन गर्ने, उजुरी लिने र मुद्धा चलाउने सम्मको जिम्मेवारी वोकेको यो विभागको यस स्तरको गैरजिम्मेवारीलाई हेर्दा हाम्रो सरकारको जनता प्रतिको उत्तरदायित्व कुन स्तरको छ भन्ने छर्लंगै हुन्छ ।
बैदेशिक रोजगारका चुनौतिहरुलाई समाधान र प्रभावकारी बनाउन ल्याइएको श्रम ऐन बिफल भएपछि सरकारले २०६४ मा फेरि यो ऐन लाएको थियो । बैदेशिक रोजगारलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउने उदेश्यले त्यो ऐन ल्याएको भएपनि कार्यन्वनय गर्ने निकायको यो स्तरको गैरजिम्मेवारीले बैदेशिक रोजगारी अझ पनि सुरक्षित र व्यवस्थित भइरहेको छैन भन्ने प्रष्ट देखिन्छ ।

बैदेशिक रोजगार विभागको ताहाचल स्थित कार्यालयका फोनहरु या प्राविधिक खरावीमा छन या कर्मचारीको लापरवाहि रहेको छ । हामीले आज बिषयबस्तुमा जान खोज्दा सरकारी निकायका फोनहरु सबै सम्पर्क नभएपछि यसबारे आम जनतालाई जानकारी दिनुपर्छ भन्ने उदेश्यले जे भएको थियो त्यो जस्तात्यस्तै उजागर गर्यौ । तर हामी जुन बिषयका बारेमा गुनासो सुनाउन खोजीरहेको थियौ त्यो बिषय फेरि निरन्तर फलोअप गर्नेछौं । हामीले आजै ठगी गर्ने र निशुल्कको नाममा लाखौ असुली गर्ने मेनपावरको बिस्तृत विवरण दिए स्वयम् ठगनै सचेत भई कारवाहीको दायरामा नआउन सक्ने देखेर आज उसको परिचय गोप्य राखेका छौ । आउने दिनमा त्यसबारे बिस्तृत विवरण सहित प्रस्तुत हुनेनै छौ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८०