काठमाडौं । आन्दोलनकारीहरूको भीषण आगजनीपछि देशको प्रशासनिक मुटु मानिने सिंहदरबार पूर्णरूपमा संकटमा परेको छ। मंगलबार रातिदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। दमकलले पटक–पटक पानीको फोहोरा प्रयोग गरे पनि ज्वालामुखीझैँ दन्किएको आगो अझै निभेको छैन।
सिंहदरबारभित्र रहेका दर्जनौं मन्त्रालयहरू आगलागीबाट ध्वस्त भएका छन्। प्रारम्भिक विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, ऊर्जा, शिक्षा र परराष्ट्र मन्त्रालयसहित अधिकांश कार्यालय जलेर नष्ट भएका छन्। एक सुरक्षाकर्मीका अनुसार सिंहदरबारको मुख्य भवनस्थित प्रधानमन्त्री कार्यालय अहिले पनि भयानक रूपमा ध्वनिभइरहेको छ।
आगलागीले कार्यालय मात्र होइन, त्यहाँ रहेका सवारीसाधनसमेत खरानी बनाइदिएको छ। संघीय संसद सचिवालयको पार्किङमा रहेका सबैजसो गाडी जलेका छन् भने प्रायः सबै राजनीतिक दलहरूको संसदीय दल कार्यालयमा क्षति पुगेको छ। एक मन्त्रीको निजी गाडीसमेत आगोले पूर्णरूपमा नष्ट भएको पुष्टि भएको छ।
प्रदर्शनकारीहरूले नेपाल टेलिभिजनको भवनमा तोडफोड गरे पनि कर्मचारीहरूको आग्रहपछि आगजनी गर्नबाट भने पछि हटेका थिए। तर त्यसको छेउमै रहेको राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा भने उनीहरू प्रवेश गर्न सकेनन्।
यस्तै, प्रदर्शनकारीहरूले पटक–पटक रेडियो नेपालको कार्यालयतर्फ प्रवेश गर्ने प्रयास गरेका थिए। तर त्यहाँका कर्मचारीहरूको विनयपूर्वक आग्रहपछि उनीहरू फर्किएका थिए। रेडियो नेपालका एक कर्मचारीका अनुसार, त्यहाँ लखेटिएका केही सुरक्षाकर्मी कर्मचारीकै सहयोगमा सर्वसाधारणको लुगा फेरेर उद्धार भएका थिए। ती सुरक्षाकर्मीहरूले आफ्ना केही हतियारसमेत रेडियो नेपालभित्र लुकाएर भागेको स्रोतले दाबी गरेको छ।
अहिले सिंहदरबारको परिसरमा नेपाली सेनाको टोली कडा गस्ती गरिरहेको छ। कर्मचारी, सर्वसाधारण वा सञ्चारकर्मीलाई समेत प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ। मुख्य भवनलगायत विभिन्न कार्यालयहरूबाट अहिले पनि बाक्लो धुवाँ र आगोको ज्वाला निस्किरहेको छ।
दमकलका एक कर्मचारीले भने, “हामी निरन्तर पानी छ्यापिरहेका छौं, तर आगो यत्तिकै फैलिरहेको छ। यो नियन्त्रणमा लिन अझै धेरै समय लाग्ने देखिन्छ।”
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२