काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई संवादमार्फत् समस्या समाधान गर्न आह्वान गरेका छन्।
मंगलबार साँझ जारी गरेको भिडियो सम्बोधनमा उनले वर्तमान असहज अवस्थालाई सामान्य बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्ने बताए।
उनले भने, “राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।”
प्रधानसेनापतिले हालका आन्दोलनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चीरशान्तिको कामना गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरे।
उनका अनुसार शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्नु सम्पूर्ण नेपालीको साझा दायित्व हो।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२