३० भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिनुभएको छ । पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उहाँले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गर्नुभयो । विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्तरूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उहाँले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागि भएका ऐन÷कानूनको कार्यान्वयनसँगै नयाँ कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४