२५ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् ५४ सदस्यीय बनाएको दिननै सेयर बजारमा ३५ अंकको गिरावट आएको छ । लगातार ओराले लागेको सेयर बजार परिसूचक नेप्से सातोको पहिलो दिन आइतबार पनि घटेको हो । कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको मूल्य घटेपछि नेप्से ३४ दशमलव ८९ अंकले घटेर १५ सय १९ दशमलव ६६ अंकमा पुगेको छ । गत बिहीबार पनि नेप्से झण्डै १२ अंकले घटेको थियो । सबै समूहको परिसूचक घटेको दिन आइतरबा सबैभन्दा धरै बिमा समूह झण्डै २ सय ९७ अंकले घटेको छ । यस दिन छिमेकी लघुवित्त विकास बैंकका शेयर धनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । यस्तै जनरल फाइनान्स र हाम्रो विकास बैंकको शेयरको भाउ पनि ८ प्रतिशतले घटेको छ । बजार घटे पनि समता माइक्रोफाइनान्स वित्तीय संस्था र निर्धन उत्थान बैंक लिमिटेडका शेयर धनीले ५ प्रतिशत कमाएका छन् । निर्धन उत्थानले आफ्ना शेयर धनीलाई ६६ दशमलव ६७ प्रतिशत बोनश शेयर र १४ दशमलव ०४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । निर्धन उत्थानको १० करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज कुल ९२ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २४, २०७४