७ भदौ, काठमाडौँ । राष्ट्रिय सहकारी संघ लि. नेपालले बाढी पहिरो, कटान र डुवान पिडितहरुका लागि सहयोगार्थ २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको छ । आज मिति २०७४ भाद्र ६ गते मंगलबार संघका अध्यक्ष तथा सांसद केशव प्रसाद वडालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सो रकम बराबरको चेक प्रधानमन्त्री शेरवहादुर देउवालाई प्रधानमन्त्री निवास वालुवाटारमा हस्तान्तरण गरेको हो । उक्त प्रतिनिधि मण्डलमा संघका उपाध्यक्ष तथा सांसद ओमदेवी मल्ल, संचालकहरु रविन्द्र केसी, चन्द्र ढकाल, दक्ष पौडेल, शिव कुमार डाँगी, सूचना तथा प्रकाशन उप समितिका सदस्य विपिन शर्मा, महाप्रबन्धक रामभजन शाह, नायव महाप्रबन्धक चित्राकुमार थाम्सुहाङ्ग सुब्बाको उपस्थिति थियो । संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको हो । संघले यस अघि पनि भूकम्प पिडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैया प्रदान गरेको थियो । त्यसैगरि संघले आफ्नो मातहतमा रहेका केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत देशभरी रहेको ३४ हजारभन्दा बढि प्रारम्भिक सहकारी सस्थाहरुलाई समेत सक्दो सहयोग उपलब्ध गराई दुखद् घडीमा हातेमालो गर्न आव्हान गरेको छ । संघले राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय बानेश्वरमा रहेको आफ्नो खाता नं. १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको संघको दैवी प्रकोप उद्दार कोषको खाता नं. १४२००–३४३५१–१० मा रकम जम्मा गर्नका लागि सहकारी संघ÷संस्थालाई आव्हान समेत गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४