२६ साउन, सिरहा । सिरहाको कर्जन्हा गाउँपालिका–१ बन्दीपुरस्थित बाबाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग्स्थित बन्दीपुर बजारबाट करिब एक किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र उद्यानका कारण पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्य अवलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० जनासम्म आन्तरिक पर्यटक आउने गरेका ताल संरक्षण संवद्र्धन समितिका केशव पोखरेल बताउनुहुन्छ । चुरे क्षेत्र नजिकै रहेको उक्त तालको अवलोकनका लागि गर्मीयामभन्दा जाडोको मौसममा बढी पर्यटक आउने गर्दछन् । उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोज स्थल, शिव मन्दिर, बालउद्यानदगायत पूर्वाधार निर्माण गरेको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४