२५ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँदिल्लीमा रहनुभएका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले टेलिफोनमा दिनुभएको जानकारीअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण गरिएको छ । विशेषगरी सानो क्षमताको प्रसारण लाइनको हकमा बढी मूल्य तिर्नुपर्ने देखिएको छ । प्रवक्ता अधिकारीले ११ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु १०.३२ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट रु ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्नुपर्नेछ । निर्णयअनुसार ५० मेगावाट भन्दामाथि वा १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत आयात हुने विद्युत्को मूल्य नेपालका लागि सस्तो हुने भएको हो ।भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो । मंगलबार सम्पन्न बैठकले सो प्रावधानलाई हटाएर आपसी सहमतिमा विद्युत्को मूल्य निर्धारण गर्ने निर्णय गरेको छ ।
विगत ६ वर्षदेखि बस्न नसकेको बैठक प्राधिकरणमा नयाँ नेतृत्व आएपछि पहिलो पटक बसेको र त्यसले दुई देशबीच विद्युत् आयात तथा निर्यातका सम्बन्धमा तल्कालीन र दीर्घकालीन महत्वका निर्णय गरेको प्रवक्ता अधिकारीले बताउनुभयो । गत मार्चसम्म प्राधिकरणले खरिद गर्दै आएको विद्युत्को मूल्य सोही बराबर नै रहेको थियो । नयाँ निर्णयअनुसार नेपालले अब कम क्षमताभन्दा पनि बढी क्षमताका प्रसारण लाइनमार्फत बढी विद्युत् आयात गरे मूल्य कमपर्ने देखिएको छ । अर्को बैठक सन् २०१८ को मार्च्भित्र राखेर अर्को वर्षका लागि विद्युत्को मूल्य निर्धारण गरिने छ । भारतको उत्तर प्रदेश र नेपाल जोड्ने १३२ केभी क्षमताका तीनवटा तथा ३३ केभी क्षमताका दुईवटा अन्तरदेशीय प्रसारण लाइन निर्माणका बारेमा ऊर्जा सचिवस्तरीय दुई देशीय समितिको आगामी बैठकमा पेश गर्ने र अन्तिम निर्णय गर्ने सहमति भएको छ । यस्तै सन् २००७ सालदेखि बन्द अवस्थामा रहेको ३३ केभी क्षमताको धनगढी–पलिया प्रसारणलाइन आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने सहमति भएको छ । उक्त प्रसारण लाइनबाट दश मेगावाट विद्युत् आयात हुँदै आएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४