१५ साउन, काठमाडौँ । वाणिज्यमन्त्री मिन विश्वकर्माले आफ्नो कार्यकालमा मुलुकको व्यापार घाटा न्यूनिकरण गर्ने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले आफ्नो कार्यकालमा मुलुकको व्यापार घाटा घटाउनेगरि नयाँ कार्यक्रम ल्याउने विश्वास दिलाएका छन् । उनले भने,‘अहिले मुलुकमा १२ खर्बको बजेट छ, तर मुलुकमा अहिले १० खर्ब व्यापार घाटा छ।’ उनले भने,‘अहिले हाम्रोे आयात १ः१३ को अनुपातमा छ, यो दुःखद् कुरा हो, मेरो छोटो कार्यकालमा म वैदेशिक व्यापार घाटा घटाउने कार्यक्रम ल्याउँछु।’ उनले व्यापार घाटा घटाउने सजिलो उपाय भनेकै नेपालबाट निर्यात बढाउने र बाहिरबाट आयात घटाउने भएकोले यसको लागि आफू पूर्ण रुपमा लागिपर्ने बताए । उनले भने,‘स्वदेशी वस्तूहरु विदेश निर्यात गर्नको लागि म वातावरण बनाउन लागिपर्नेछु, निर्यात गर्ने वस्तुहरुको पहिचान गर्ने, आयातको आकार घटाउनेगरि नयाँ कार्यक्रमहरु ल्याउँछुु।’ त्यस्तै छिमेकी मित्रराष्ट्र भारत र चीन विश्वकै उदयीमान अर्थतन्त्र भएका मुलुकहरु नेपालका स्थायी मित्र भएको उल्लेख गर्दै भने,‘भारत र चीन दुवैको अर्थतन्त्रले हामीलाई प्रभाव पार्छ, नेपालले त्यसबाट लाभ लिन सक्नुपर्छ।’ नेपालको आर्थिक समृद्धिको लागि परराष्ट्र नीति तथा वाणिज्य नीति महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री विश्वकर्माले भने,‘वाणिज्य कुटनीतिलाई अघिघ बढाएर सन्धिसम्झौता गरिन्छ।’
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४