५ साउन, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को आयोजनामा ११औँ इक्यान शैक्षिक मेला बिहीबारबाट सुरु भएको छ । राजधानीको भृकुटीमण्डमा सुरु मेलाको उद्घाटन नेपालका लागि श्रीलंकाली राजदुत डव्लु एस परेराले गरिन । उद्घाटनपछि शुभकामना दिँदै श्रीलंकाको राजदुत परेराले वैदेशिक उच्च शिक्षा सम्बन्धी परामर्शमा इक्यानको जिम्मेवार भूमिका प्रसंशनीय भएको धारणा ब्यक्त गरिन । विदेशका कलेज तथा विश्वविद्यालयका शिक्षाका राम्रा स्वरुपहरु नेपालमा पनि लागू गराउनेतर्फ पहल गर्न उहाँले ईक्यानसँग आग्रह गरिन । कार्यक्रममा ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले उच्चशिक्षाका लागि विदेश जान रोक्नु समस्याको समाधान नभएको धारणा राखे । नेपाल भित्र प्रर्याप्त अवसर श्रृजना हुन नसकेको कारणले नेपाली विद्यार्थीहरु बाहिरिन बाध्य भएको पाण्डेले बताए ।
सरकार र शिक्षा क्षेत्रका लगानीकर्ताहरुले नेपालमै अन्तर्राष्ट्रिय स्तरको ब्यवहारोपयोगी शिक्षा उपलब्ध गराए आफूहरु लाखौं विदेशी विद्यार्थी नेपाल भिœयाउन तयार रहेको उनले जानकारी दिए । मेलालाई शुभकामना दिँदै नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधरले मेलाको सफल आयोजनाले नेपालीहरु जस्तोसुकै विपद्मा पनि फेरि अघि बढ्न सक्छन् भन्ने सन्देश दिएको बताए । अभिभावक संघ नेपालका उपाध्यक्ष सुवास भण्डारीले नेपाललाई नयाँ शैक्षिक गन्तब्यका रुपमा विकास गर्नेतर्फ मेलाले नयाँ सोंच विकास गरेको बताए । कार्यक्रममा शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका अधिकृत तारानाथ निरौलाले शैक्षिक परामर्शदाताहरुको ब्यवशायिक समस्या सम्बोधन गर्न मिलेर जाने प्रतिबद्धता ब्यक्त गरे । ब्रिटिश काउन्सिलका विजनेज डेभलप्मेन्ट हेड विक्रन्त गुरmङ्गले शैक्षिक मेलाले सही सूचना मार्फत विद्यार्थीलाई आफूलाई उपयुक्त कलेज वा विश्वविद्यालयको छनोटमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।
मेलामा भारत, चीन, बंगलादेश, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, श्रीलंका लगायत विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा विश्वविद्यालय एवं इक्यान आबद्ध शैक्षिक परामर्शदाताहरुका दुइ सय पचास भन्दा बढी स्टल राखिएका छन् । उच्च शिक्षा अध्ययनका लागि संसारका विभिन्न मुलुकमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई एकै थलोबाट विभिन्न देशका शिक्षा निती, भिसा निती, इन्ट्री रिक्वार्मेन्ट, छात्रवृत्ति तथा सम्पूर्ण आवश्यक सूचना एवं जानकारी दिने उद्देश्यका साथ आयोजित मेलाको पहिलो दिन करीब २० हजार विद्यार्थी तथा अभिभावकहरुले मेला अवलोकन गरेको कुरा ईक्यान सचिव तथा सूचना र सन्चार विभाग प्रमुख उमेश ढुगेंलले बताए ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७४