५ साउन, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन । गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको काठमाडौँमा उद्घाटन गर्दै उनले भने, “मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु, आवश्यक सुरक्षा गर्न सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको छ ।” कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा राजनीति हावी भएको टिप्पणीका सन्दर्भमा पर्यटन क्षेत्रको विकासका लागि राजनीतिमुक्त होइन राजनीतिकरणमुक्त बनाइनुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी दीपक महत, रामशरण थपलिया, कमल सापकोटा, नवराज दाहाललगायतले पर्यटन क्षेत्रलाई व्यावसायिक र मर्यादित ढंगले अघि बढाउन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७४