३ साउन, काठमाडौं । नेपाल टेलिकमले कलरआइडी सेवा निःशुल्क दिने भएको छ । टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरेको हो । टेलिकमले कल डाइभर्ट लगायतका पुरक सुविधाको पनि पैसा नलाग्ने जनाएको छ । ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिँदा लाग्ने शुल्क साउन १ गतेबाट हटाइएको नेपाल टेलिकमले जनाएको छ । त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने बिजी कल ट्रान्सफर, ६ पटकसम्म घण्टी बजेपनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने ‘नो एन्सर ट्रान्सफर’, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने ‘वेक अप कल’ र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने ‘कल वेटिङ’ सुविधा पनि निःशुल्क लिन सकिने टेलिकमले जनाएको छ । कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्छ । अन्य सुविधा भने ग्राहकले आफै नै लिन सक्नेछन् । यसका लागि विभिन्न कोडको व्यवस्था गरिएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जनाएकी छिन ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७४