११ असार, जुम्ला । मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका कृषक क्षतिपूर्ति पाएपछि दङ्ग छन् । शिखर इन्स्योरेन्स कम्पनी र सक्षम कार्यक्रमद्वारा यहाँ आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । कार्यक्रममा गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका १४७ किसानमध्ये १०५ जनाले क्षतिपूर्ति पाएका हुन् । मौसमी स्याउ असिना र सुख्खा खडेरीले क्षति पुर्याएकाले बिमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको सो कम्पनीका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले बताए । हामीले १० वटा स्याउका बोट बराबर दुई हजार ९२१ उपलब्ध गराएका छौँं, जसमा अधिकतम् १४ हजार ६०५ र न्यूनतम दुई हजार ९२१ क्षतिपूर्ति उपलब्ध गराइएको उनले बताए । सुरुको वर्षमा ४७ जनाले मौसमी स्याउ बिमा गरेकामा कुनै क्षति नपुगेको तर पछिल्लो समयमा बिमा गरेका किसानको स्याउमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराएको उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असार १०, २०७४