११ असार, सिन्धुली । महाभारत क्षेत्रमा असारलागेसँगै धान रोपाइँ सुरु भएको छ । रोपाइँ ढिला हँुदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् । भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका दर्जनाँै स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन् । महाभारतका केही क्षेत्रमा जेठको अन्तिम साताबाटै धान रोपाइँ सुरु हुने गर्दछ । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा केही छिटो रोपाइँ भएको छ । कृषक असारको पहिलो साता नै बर्षेबाली अर्थात धान रोपाइँमा व्यस्त हुन थालेका छन् । यस भेगका कृषकले सिँचाइको लागि पोखरी बनाई पानी सङ्कलन गरेर रोेपाइँ गर्दै आएका छन् । पानी जम्मा गर्ने र पालैपालो आवश्यकता अनुसार प्रयोग गर्ने गरेको जलकन्याका रमेश बुढाथोकिले बताए । आकासे पानीको भरपर्दा धेरै ढिला हुने भएकाले आफू अनुकूल रोपाइँ गर्नकै लागि सिँचाइका लागिसबैले आ–आफ्नो खेतबारीमा पानीको जोहो गरेको उनको भनाइ छ । जिल्लामा १४ हजार ९५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष यहाँ ५० हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
प्रकाशित मिति: शनिबार, असार १०, २०७४