२८ जेठ बर्दिया । कर्णाली र बबई नदीमा तटबन्धको काम गरिरहेका निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै काम रोकेका छन । निर्वाचन आचारसंहिता सुरु भएको भन्दै कर्णाली नदी व्यवस्थापन आयोजना र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भुक्तानी रकम नदिँदा ठेकेदार पक्षले काम रोकेका हुन् । तटबन्ध निर्माणमा सूर्य कन्स्ट्रक्सन, राजेन्द्र निर्माण सेवा, गजुरमुखी निर्माण सेवा, महादेव खिम्ती एण्ड मल्लदेवी ज्वाइन्ट भेन्चरलगायत कम्पनीले काम गरिरहेका छन् । निर्माण कम्पनीले बिलअनुसारको रकम नपाउँदा मजदुर, सवारी साधन, इन्धन, भौतिक सामग्रीलगायतको रकम भुक्तानी दिन नसकेको जनाए । कार्यालयका अधिकृत धु्रव पोखरेलले बजेट निकासा नहुँदा तटबन्धको काम प्रभावित बन्दै गएको बताए ।
बजेटको अभावमा काम गर्ने वातावरण नभएकाले व्यवसायी निर्माणस्थलमा आउन छाडेको आयोजनाका कर्मचारी बताउँछन् । समयमा तटबन्ध निर्माण नभए बाढीको जोखिम बढ्ने स्थानीयवासीको गुनासो छ । केही दिन पहिले परेको पानीका कारण बन्दै गरेको तटबन्ध बगाएको कम्पनीका कर्मचारीले बताएका छन् । कर्णाली र यसको भङ्गालो गेरुवा नदीस्थित विभिन्न नौ ठाउँमा तटबन्धको काम २०७१ सालदेखि सुरु गरिएको थियो । पाताभारको वनघुस्रा, राजापुरको टिहुनी, सनकट्टीघाट–१ मुर्गवालगायतका ठाउँमा तटबन्धको काम भइरहेको छ । त्यस्तै, जलउत्पन्न कार्यालयले बबई नदी र अन्य खोला ठेक्कामा दिएका काम पनि बजेटको अभावमा प्रभावित बन्दै गएको जनाएको छ । गुलरियाको थपुवा, लटकनिया, पशुहाट, प्रयागपुरलगायतका ठाउँमा निर्माण भइरहेको तटबन्धको रकमसमेत निकासा हुन सकेको छैन । जलउत्पन्न कार्यालयका अधिकृत पोखरेलले असारको पहिलो साता बजेट निकासा हुने बताउनुभयो । असारको पहिलो साता मात्रै बजेट निकासा हुँदा चालु कामसमेत पूर्ण नहुने देखिएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४