२५ जेठ, काठमाडौँ । एनसेलले थ्रिजी प्रविधिमा आधारित मोवाइल इन्टरनेट सेवाको विस्तार गर्ने जनाएको छ । ९ सय मेगाहर्ज र १८ सय मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको ६० प्रतिशत जनसंख्यामा सेवा पुर्याउने एनसेलको दावी छ । प्रविधि तटस्थता मार्फत एनसेलले १ करोड ७० लाख भन्दा बढी नेपाली नागरिकमा थ्रिजी सेवा र्पुयाई उनीहरुलाई दु्रत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्ने योजना बनाएको हो । एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङ्गको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङ्गको झोङ्ग, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङ्गला जस्ता १ हजार भन्दा बढी ग्रामीण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने जनाएको छ । एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जस अन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी चलाउन सक्छन् । साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी र्पुयाउने लक्ष्य लिई एनसेलले अहिले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवाको योजना तथा परीक्षण गरीरहेको पनि जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४