२२ जेठ, काठमाडौँ । निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलले पूँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । आइतबार आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको लाभकर बुझाएको एनसेलले जनाएको छ । ठूला करदाता कार्यालयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३ अर्ब रुपैयाँ दाखिला गरेको पुष्टि गरेको छ । स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो भने त्यसबापतको लाभकर तिर्न आनाकानी गर्दै आएको थियो । एनसेलले यसअघि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर बुझाएको थियो । लाभकर नबुझाएको भन्दै एनसेलको चर्को आलोचनासँगै विभिन्न स्तरको दबाव पनि रहँदै आएको थियो । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले विज्ञप्तीमार्फत कम्पनीले सधैँ नेपालको कानुनको परिपालना गरिरहेको र आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको बताएका छन ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४