काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने भएको छ ।
आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षा उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै गत चैत ११ गतेदेखि बन्द भएको सेयर बजार वैशाख २ गते खुले पनि २ दिनको कारोबारमा नकारात्मक सर्किट लागेपछि पुनः बन्द गरिएको थियो ।
बोर्डका प्रवक्ता निरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ ।
लगानीकर्ताको सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएकाे छ। बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्ने छ ।
यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७