१४ जेठ, काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.९४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३/७४को आर्थिक सर्वेक्षणअनुसार अनुकूल मौसमका कारण कृषि उत्पादकत्वमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधारलगायत समग्र सुधारको असर अर्थतन्त्रमा परेको हो ।तेइस वर्ष यताकै उच्च उक्त वृद्धिदरले अर्थतन्त्रमा सकारात्मक असर पारेको छ । भूकम्प र सीमा नाका अवरोधबाट अर्थतन्त्रमा सङ्कुचन आएका कारण गत आवमा आर्थिक वृद्धिदर ०.०१ प्रतिशत रहेको थियो । कृषि र गैरकृषि क्षेत्रमा उत्पादन क्रमशः ५.२९ प्रतिशत र ७.७४ प्रतिशतले बढ्ने अनुमान छ । गत आव यी क्षेत्रको उत्पादन क्रमशः ०.०३ प्रतिशत र ०.१६ प्रतिशत थियो । त्यसैगरी, यस अवधिमा सेवा र उद्योग क्षेत्रको उत्पादन क्रमशः ६.९ प्रतिशत र १०.९७ प्रतिशतले बढ्ने अनुमान छ । अर्थतन्त्रको आकारमा सेवा क्षेत्रको अंश बढ्दै गएको र कृषिको अंश घट्दो रहेकाले अर्थतन्त्रको संरचनामा परिवर्तन भइरहेको सर्वेक्षणमा उल्लेख छ ।
यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २९.३७ र ७०.६३ प्रतिशत रहने अनुमान छ । त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ८९.७ प्रतिशत रहने अनुमान गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा ९६.१८ प्रतिशत थियो । सर्वेक्षणका अनुसार सो अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचतको अंश ६.४३ प्रतिशत विन्दुले वृद्धि भइ १०.२५ प्रतिशत हुने अनुमान छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचतको अनुपात ४३.७८ प्रतिशत रहने अनुमान छ । चालु आवमा गत वर्षको तुलनामा ४५.८ प्रतिशतले वृद्धि भई कुल पुँजी निर्माण खर्च रु ११ अर्ब चार अर्ब ९६ करोड रहने अनुमान छ । चालु आवमा स्थिर मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा ६.१ प्रतिसले वृद्धि भई २८ हजार ७३३ रहने अनुमान छ । अमेरिकी डलरमा प्रतिव्यक्ति आय ८६२ पुगेको छ । गत आवमा ७५७ रहेको थियो ।
यस अवधिमा कृषि उत्पादनमा वृद्धि र समग्र आयातमा सुधार आएका कारण मुद्रास्फीति दर गत केही वर्ष यताकै न्यून रहने अनुमान छ । चालु आवको प्रथम आठ महिनाको अवधिमा औसत मुद्रास्फीति दर ५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति ९.७ प्रतिशतको थियो । यस अवधिमा विनियोजित बजेट रु १० खर्ब ४८ अर्ब ९२ करोडमध्ये प्रथम आठ महिनासम्म चार खर्ब १६ करोड भएको र यसमध्ये चालुतर्फ दुई खर्ब ९३ अर्ब ४२ करोड अर्थात् ७३.३२, पुँजीगत खर्च रु ६७ अर्ब ८३ करोड अर्थात् १६.९५ र वित्तीय व्यवस्था खर्च ३८ अर्ब ५१ करोड अर्थात् ९.७३ प्रतिशत छ । यस अवधिमा कुल राजस्व परिचालन रु पाँच खर्ब ६५ अर्ब ९० करोड रहने अनुमान गरिएकामा प्रथम आठ महिनामा रु तीन खर्ब ५३ अर्ब ९१ करोड परिचालन भएको छ । यो रकम गत आवको आठ महिनाको तुलनामा ५३.१६ प्रतिशतले बढी हो ।चालु आवमा गत वर्षको तुलनामा ३५.७६ प्रतिशतले वृद्धि भएर रु दुई खर्ब १२ अर्ब चार करोडको राजश्व प्राप्त भएको सर्वेक्षणमा उल्लेख छ । कुल प्राप्त वैदेशिक सहायताको प्रतिबद्धतामा अनुदानको अंश २१.५ प्रतिशत र ऋणको अंश ७८.५ प्रतिशत छ ।
विसं २०७३ को फागुन महिनासम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण रु छ खर्ब २७ अर्ब ७९ करोड रहेको छ । यसमध्ये आन्तरिक ऋणको अनुपात ३८.१ प्रतिशत र ६१ प्रतिशत रहेको छ जुन अघिल्लो आवको कुल गार्हस्थ्य उत्पादनसँग कुल सार्वजनिक ऋणको अनुपात २४.१ प्रतिशत रहेको छ । यस अवधिमा विस्तृत मुद्रा प्रदाय ९.५ प्रतिशतले बढेको छ गत वर्ष सोही अवधिमा ११.५ प्रतिशतले बढेको थियो । आर्थिक गतिविधिमा आएको सुधारका कारण निजी क्षेत्रमा जाने कर्जामा १६.२ प्रतिशतले वृद्धि भई रु १९ खर्ब ६६ अर्ब १९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८.३ प्रतिशतले वृद्धि भई रु २१ खर्ब ८३ अर्ब ३० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो वृद्धि ८.४ प्रतिशत थियो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात २.१३ प्रतिशत रही वित्तीय स्थायित्व कायमै रहेको छ । कुल वस्तु निर्यात १२.८ प्रतिशतले वृद्धि भई रु ४८ अर्ब २२ करोड पुगेको छ भने कुल वस्तु आयात ४४.२ प्रतिशतले वृद्धि भई रु छ खर्ब २८ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो आवमा वस्तु निर्यात तथा आयातमा शिथिलता आएको थियो ।
फलस्वरुप चालु वर्षको आठ महिनामा कुल व्यापार घाटा ४७ प्रतिशतले बढेर रु पाँच खर्ब ८० अर्ब ३४ करोड पुगेको सर्वेक्षणमा उल्लेख छ । चालु आवको प्रथम आठ महिनामा समग्र शोधनान्तर रु ५० अर्ब ६ करोड बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको तुलनामा ३.४ प्रतिशतले वृद्धि भई रु १० खर्ब ७४ अर्ब २७ करोड पुगेको छ । यसले करिब १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने उल्लेख छ । धितोपत्र बजारमा गरिएका सुधार, बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि योजना लागत समग्र आर्थिक गतिविधिमा सुधार आएसँगै पुँजी बजारमा एवम् विस्तार भएको छ । विसं २०७२ फागुन मसान्तमा एक हजार ३१८.९ विन्दुको नेप्से २०७३ असार मसान्तमा एक हजार ७१८.२ विन्दुमा र फागुनमा एक हजार ३५५.२ विन्दुमा पुगेको उल्लेख छ । यस अवधिमा पुँजीकरण रु १५ खर्ब ३७ अर्ब पुगेको र कुल गार्हस्थ्य उत्पादनसँग कुल बजार पुँजीकरणको अनुपात ५९.१३ प्रतिशत रहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०७४