काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो १ महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् । विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उनले आफ्नो पारिश्रमिक कोषमा जम्मा गरेका हुन् ।
संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुने छ । सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न पूर्वतयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।
यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा १ महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन् ।
उनले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो १ महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशन दिएका छन् ।
अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयको स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिलसमेत गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६