काठमाडाैं । कोभिड–१९को संक्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार संघले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ ।
आइतबार बिहान बसेको संघको पदाधिकारी बैठकले कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकालेसंघले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए । व्यापार संघमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ, उनले भने ।
अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताउनुभयो । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रलाई व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ । विसं २०४७ मा स्थापित संघमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६