काठमाडौं । आइतबारदेखि दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्जले चैत २ गतेदेखि लागु हुनेगरी कारोबार समय १ घण्टा बढाएको हो । बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मको लागि कारोबार समय निर्धारण गरेको हो ।
नेप्सेको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समयलाई बढाउने निर्णय गरेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
यसअघि दैनिक ४ घन्टा हुँदै आएको कारोबार अब परीक्षणका रूपमा १ हप्तासम्म दैनिक ५ घन्टा हुने छ । जसअनुसार अब साढे १० देखि सेयर बजारको कारोबार समय खुल्छ र ४ बजे बन्द हुन्छ ।
नेप्सेका अनुसार अब प्रारम्भिक कारोबार १० बजेर ३० मिनेट जाँदादेखि ११ बजेसम्म हुन्छ । बोलकबोल र नियममित कारोबार समय ११ बजेदेखि ४ बजेसम्म हुने छ। यस्तै, अन्तिम कारोबार ४ बजेदेखि ४ बजेर ५ मिनेट जाँदासम्म हुने जानकारी नेप्सेले दिएको छ ।
१२ बजेदेखि ३ बजेसम्म खुल्ने बजारलाई २०७३ साउनदेखि दैनिक ४ घण्टा बनाइएको थियो । त्योबेला कारोबार खुल्ने समयलाई १ घण्टा अघि सारिएको थियो । अहिले कारोबार भने कारोबार बन्द हुने समयलाई १ घण्टा पछि सारिएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६