काठमाडाैं । धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्जले सर्किट लगाएको छ ।
मंगलबार सेयर बजार पुनः नेगेटिभ सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि खुलेको बजारमा कारोबारको सुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो ।
स्टकले काराेबार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।
पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।
नेप्से ८६.३९ विन्दुले घटेर १ हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता सेयर १ अर्ब ७ करोड ६६ लाख ९६ हजार ३ सय रुपैयाँ बराबरको काराेबार भएको थियो ।
नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै ८ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको काराेबार भएको छ । यस्तै एनआइसी एसिया बैंकको ८ करोड २० लाख ५५ हजार १ सय १४ र एनएमबी बैंकको ६ करोड ७९ लाख ६४ हजार ४ सय ८९ बराबरको काराेबार भएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६