कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा करिब १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका ४ हजार कुखुरा र ३ हजार चल्ला जलेर नष्ट भएको हो ।
कमाइ खाने सहारा फार्म थियो , उनले भने, जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ । पुनः फार्म सञ्चालन गर्ने पुँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।
स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
भण्डारीले ७ वर्षदेखि सो व्यवसाय गर्दै आएका थिए । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६