काठमाडौं । पछिल्लाे समय निरन्तर बढिरहेकाे सुनकाे मूल्यले शुक्रबार नयाँ रेकर्ड कायम गरेकाे छ । बिहीबार तोलामा ७७ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सय बढेर फेरि अर्को रेकर्ड बनाएको हो ।
नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजाबी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।
चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेकाे महासंघले जनाएकाे छ । शुक्रबारका लागि चाँदीकाे मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ ताेकिएकाे छ ।
फागुन १ गते ७६ हजारमा कारोबार भएको सुनको मूल्य ९ दिनमै तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।
विश्वव्यापी महामारीकाे रूप लिन खाेजिरहेकाे कोरोना भाइरसका कारण सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघले जनाएकाे छ ।
सुनको भाउ बढेसँगै कारोबार घट्दै गएको व्यवसायीले बताएका छन् । माघ महिनामा विवाहका लागि दैनिक दैनिक २० किलोसम्म सुनको कारोबार हुने गरेकोमा भाउ बढेसँगै माग घट्दै गएको छ । अहिले दैनिक १०-१५ किलोसम्म मात्रै सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६