काठमाडाैं । पछिल्लाे समय लगातार बढिरहेकाे सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।
मंगलबार ताेलाकाे ७६ हजार ७ सय रुपैयाँ कायम भएकाे सुनको मूल्य बुधबार ४ सय रुपैयाँले बढेर ७७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनकाे मूल्य बुधबार ७६ हजार ८ सय रुपैयाँ पुगेकाे छ ।
महासंघका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ । यही अनुसार सुनकाे मूल्य वृद्धि हुने हाे भने याे वर्ष सुनकाे मूल्य ८० हजारसम्म पुग्ने आँकलन गरिएकाे छ ।
यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको उनीहरुकाे गुनासो छ ।
यसअघिका वर्षहरुमा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलोभन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि माग नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६