काठमाडाैं । निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । यही सोमबार र मंगलबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला ७५ हजार ६ सय पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँ वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ पुगेको छ ।
यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस १ हजार ५ सय ८२ अमेरिकी डलर पुगेको छ ।
खपत ओरालो
पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।
सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ ।
सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६