काठमाडौँ । प्रभु बैंक र एनसिसी बैंकको मर्जर सम्बन्धी मर्जर कमिटीकै जिम्मेवार व्यक्तिबाट सार्वजनिक अभिव्यक्ति इन्साइड ट्रेडिङ भएकाले बैंकलाई कारबाही हुनसक्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
मर्जर कमिटीका सहसंयोजकको भूमिकामा रहेका निर्मल प्रधानले केही दिनअघि प्रभु र एनसिसी बैंकको मर्जरबारेका गोप्य सूचना सार्वजनिक गरेका थिए ।
मर्जरको विषयमा आधिकारिक निर्णय नआएसम्म सोही विषयसँग सम्बन्धित व्यक्तिले सूचना सार्वजनिक गर्नु इन्साइड ट्रेडिङ हुने भएकाले उजुरी परे कारबाही गर्ने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।
प्रधानको अभिव्यक्तिले बजार मूल्य तलमाथि भए त्यसको जिम्मवारी पनि उनैले लिनुपर्ने बोर्डले जनाएको छ । जानकारहरुका अनुसार प्रधानले योजनाबद्ध रुपमा मर्जरसम्बन्धी गोप्य सूचना सार्वजनिक गरेका हुन् ।
सेयर बजारका ठूला खेलाडीका रुपमा रहेका प्रधानले केही दिनअघि एनसिसी बैंक प्रभु बैंकसँग मर्जरमा जाने र त्यसको स्वाप रेसियो १ः१ हुने, त्यो नभए १००ः९५ हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यतिमात्रै होइन मर्जरमा जाँदा नाम, अध्यक्ष र सिइओ प्रभुकै हुने दाबी गरेका थिए ।
मर्जरसम्बन्धी अन्तिम निर्णय नहुँदै सोही कमिटीमा बसेका जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिलाई सेयर विश्लेषकहरुले आफ्नो फाइदाका लागि योजनाबद्ध रुपमा सार्वजनिक गरिएको अभिव्यक्ति मानिरहेका छन् । आफैँ मर्जर कमिटीमा बसेर आफैँ गोप्य सूचना बाहिर ल्याउने कुरा गम्भीर नैतिक विषय भएकाले यसको जिम्मेवारी प्रधान स्वयंले लिनुपर्ने विश्लेषकहरुको बुझाइ छ ।
बोर्डले यस्ता विषयलाई गम्भीर रुपमा नियमन गनुपर्ने विश्लेषण गरिएको छ । सेयर बजारको खेलाडीका रुपमा रहेका यिनै प्रधानका कारण विगतमा पनि कैयौं कम्पनी र व्यक्तिहरुले सडकमा आउनुपरेको जनाउँदै एक विश्लेषकले भने, ‘यस्तो जानीबुझी योजनाबद्ध रुपमा ल्याइएको अभिव्यक्ति दिनेविरुद्ध तत्काल कारबाही गनुपर्छ ।’
विगतमा सधैँ छुट पाउँदै आएका कारण प्रधानले सूचना सार्वजनिक गरेको भए पनि बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले भने कारबाही गर्ने संकेत गरेका छन् । बोर्डको यो कदमलाई नयाँ नेतृत्वको सक्रियता मात्रै होइन, लगानीकर्तालाई विश्वासमा लिने सकारात्मक कदमका रुपमा सेयर विश्लेषकले लिएका छन् ।
अन्य देशमा यस्तो गरेको भए जेल भइसक्ने जनाउँदै नेपालमा पनि नियमनकारी निकायले कारबाही गर्ने भनी अभिव्यक्ति मात्रै दिने भन्दा व्यवहारमै कारबाही गर्नुपर्ने सेयर विश्लेषकहरूको मत छ ।
प्रधान जस्ताका खेललाई बुझी नियमकारी निकाय कडा भए पनि अन्य सर्वसाधारण लगानीकर्ताले सेयर बजारमा लगानी गर्न आत्तिनु नपर्ने पनि ती सेयर विश्लेषकले आजको न्युजलाई बताएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६