काठमाडौं । धितोपत्र बजारमा पछिल्लो १ वर्षको अवधिमा नेप्से परिसूचकमा आइतबार सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को सुरुआतसँगै उकालो लागेको सेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेन्ड’ पछ्याउँदै करिब ४३ अंकले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर १ हजार २ सय ५५.७२ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ विन्दुले बढेर २७२।७३ मा पुगेको छ । बीमा समूहले ‘बुलिस ट्रेन्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अंकले वृद्धि भएको छ ।
नेप्सेका अनुसार कुल १ सय ७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहकै सेयरमा भारी वृद्धि देखिएको छ ।
बैंकिङ २७.३, व्यापार ११.५९, होटल ७५.८४, विकास बैंक ४३.३३, जलविद्युत् ३१.०७, वित्त १३.९२, निर्जीवन बीमा ३८४.२१, उत्पादन ३४.५४, अन्य १७.९२, लघुवित्त १ सय २२.०२, जीवन बीमा ४ सय ९.२७ र सामूहिक लगानी कोष ०.२४ ले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा देखिएको छ । सो कम्पनीको ५ करोड ८८ लाख १९ हजार बराबरको कारोबार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ६३ लाख ५६ हजार ५ सय ४, एनआएसी एसियाको ४ करोड ७ लाख ८१ हजार १ सय १०, शिवम् सिमेन्टको ३ करोड ९८ लाख २४ हजार १ सय ४९, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ३ करोड ७६ लाख २७ हजार २ सय ९१, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३ करोड ७४ लाख ५ हजार २ सय ५७, नेपाल बैंक लिमिटेडको ३ करोड ३ लाख ५३ हजार ४ सय ८९ र प्रभु बैंकको २ करोड ९१ लाख ३८ हजार १ सय २५ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९९ प्रतिशतले कमाए । एसियन लाइफ इन्स्योरेन्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.७ प्रतिशतले कमाए ।
यस्तै माउन्टेन हाइड्रो नेपालका सेयरधनीले २.१५, सिनर्जी पावर २.०८, सिटिजन म्युचुअल फण्ड र युनियन हाइड्रोपावर १.७२, सिन्धु विकास बैंक १.६२ तथा प्राइम बैंकका लगानीकर्ताले १.३९ प्रतिशतले कमाए । बैंकिङ तरलता सहज हुँदै गएको, साना तथा ठूला लगानीकर्ता सक्रिय भएको र लगानीकर्तामा बजार बढ्छ भन्ने आत्मविश्वास बढ्दै गएकाले सेयरबजारमा उल्लेख्य सुधार आएको हो । रासस
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६