काठमाडौँ । पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला १ हजारले सुनको मूल्य घटेको थियो ।
आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ३ सय पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय पुगेको थियो ।
यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबारको तुलनामा १५ ले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ८५ पुगेको छ ।
नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय निर्धारण गरेको थियो ।
सामान्य उतारचढावका बीच कारोबार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ५ सय ४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ ।
विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस १ हजार ५ सय ७३.५० अमेरिकी डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६