काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएकाे छ । आइतबार १ हार बढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार फेरि ५ सय रुपैयाँ बढेर ७६ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
गएकाे ५ दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाे मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको उनले बताए ।
अमेरिका र इरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६