काठमाडौं । आइतबार सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनकाे मूल्य ७५ हजार ५ सय रुपैयाँ कायम भएकाे छ । यो सुन बजारकाे इतिहासमै सबैभन्दा बढी मूल्य हो ।
सुनको भाउ आज एकै दिन तोलामा १ हजार रुपैयाँ बढेको होे । यसअघि शुक्रबार पनि सुनको भाउ तोलाको १ हजार बढेको थियो । यसैगरी तेजाबी सुन ७५ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
सुनको मूल्य वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर छ । आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला ९ सय रुपैयाँमा चाँदीकाे कारोबार भइरहेको छ ।
इरान र अमेरिकाबीचको तनावका कारण सुनको मूल्य वृद्धि भएको महासंघको भनाइ छ । २ देशबीचकाे युद्धपछि संसारको जुनसुकै देश पुगे पनि बिक्न सक्ने धातु सुन नै भएकाले युद्धको भयमा सुनको बिक्री बढ्ने जानकारहरू बताउँछन् ।
इकोनोमिक्स टाइम्सका अनुसार अमेरिकमा सुनको मूल्य पछिल्लो ४ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बुल्मबर्गले मध्यपूर्वको तनावका कारण विश्व बजारमा सुनको मूल्य ६ वर्षयताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको उल्लेख गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६