परासी । पश्चिम नवलपरासीमा ४ महिनामै ६ सय ७३ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा चालु आव २०७६-७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममै उक्त संख्यामा उद्योग दर्ता भएका हुन् ।
कार्यालयका अनुसार सबैभन्दा धेरै पर्यटन उद्योग दर्ता भएका छन् । त्यसपछि सेवामूलक र कृषि तथा वन पैदावरमा आधारित उद्योगहरुको संख्या धेरै छ । कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार ४ महिनाको अवधिमा दर्ता हुनेमा २ सय ७४ पर्यटन तथा सेवामूलक १ सय ७७ उद्योग छन् । १ सय ५३ कृषि तथा वन पैदावरमा आधारित र ६९ उद्योग उत्पादनमूलक दर्ता भएको कार्यालयले जनाएको छ ।
यस अवधिमा वाणिज्य पसल पनि ९ सय ६१ वटा दर्ता भएका छन् । उद्योग र वाणिज्य फर्मको दर्ताबाट कार्यालयले ४ महिनामै ७७ लाख ८० हजार २ सय ५ रुपैयाँ राजस्व पनि संकलन गर्न सफल भएको जनाएको छ ।
पछिल्लो समय जिल्लामा उद्योग स्थापना तीव्ररुपमा भइरहेको उल्लेख गर्दै कार्यालय प्रमुख भुसालले भने, विगतका वर्षहरुभन्दा पनि अहिले उद्योग दर्ता हुने क्रम बढेको छ, विगतमा नवलपरासी जिल्ला सिङ्गो हुँदा पनि यो अवधिमा यति धेरै मात्रामा उद्योग दर्ता भएका थिएनन् ।
नेपाल सरकारले उद्योग स्थापनाका लागि विभिन्न किसिमका सहुलियत दिनाका साथै वैदेशिक रोजगारीबाट फर्केकाहरुको रोजाइमा पनि घरेलु उद्योग पर्न थालेपछि उद्योग दर्ता ह्वात्तै बढेको उनको भनाइ छ । उद्योग दर्ता र नवीकरणका लागि प्रदेश ५ सरकारले दस्तुर पनि घटाई दिएपछि उद्योगीलाई राहत भएको छ, निजी फर्म दर्ताका लागि महिला, अपांगता भएका व्यक्ति र दलित समुदायका व्यक्तिलाई दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था छ, नवीकरणमा पनि दर्ता गर्दा लागेको दस्तुरको २० प्रतिशत मात्रै लाग्छ , भुसालले भने ।
उद्योग दर्ता गर्दा पुँजीका आधारमा निजी फर्मका लागि १ हजारदेखि २५ हजारसम्म र साझेदारी फर्म दर्ताका लागि ६ सयदेखि १ हजार ५ सिय रुपैयाँसम्म दस्तुर लाग्छ । यसअघि निजी फर्म दर्ता गर्दा १ हजारदेखि ५० हजारसम्म दस्तुर लाग्ने गरेको थियो ।
उद्योगहरु स्थापना हुने क्रम बढेपछि स्वरोजगार हुनाका साथै सयौँले रोजगारी पनि पाएका छन् । शान्ति सुरक्षा, राजनीतिक स्थिरता, लगानीको वातावरण तयार हुनु, तीनै तहका सरकारबाट उद्योग स्थापनाका लागि प्रोत्साहन गरिएकाले उद्योग फस्टाएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष केशव भण्डारीले बताए ।
उनले भने, परासी क्षेत्र महेशपुर र बेलहिया भन्सार नजीक रहेको, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा उद्योगीहरु उत्साहित छन्, लुम्बिनी क्षेत्र र बुटवल–भैरहवा क्षेत्रमा भन्दा अहिले भैरहवा–भुमही क्षेत्र उद्योगीहरुको रोजाइमा पर्नु, नाकाबन्दीमा पनि सुरक्षित क्षेत्र भएको, सीमाबाट नजीक, औद्योगिक वातावरण, लगानी सुरक्षित, मेचीमहाकालीको मध्यभाग, उद्योग वाणिज्य सङ्घको पहलमा उद्योगलाई चाहिने बिजुलीको समस्या समाधान गरिएकालेले पनि उद्योगहरु थपिने क्रम जारी छ ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हाल पश्चिम नवलपरासीमा सेवामूलक ३ हजार ७३, कृषि तथा वनपैदावरमा आधारित १ हजार ८ सय ८६, पर्यटनसम्बन्धी एक हजार ३ सय ६३, उत्पादनमूलक १ हजार ६३, सूचना प्रसारण तथा सञ्चार प्रविधिसम्बन्धी ३, खनिजसम्बन्धी २ र ऊर्जामूलक १ गरी ७ हजार ३ सय ९१ घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६