२६ वैशाख, काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले इँटा उत्पादन गर्ने उद्योग ‘सुपर इको ब्रिक इनोभेसन’को उद्घाटन गरे । कार्यक्रममा राजदूत ओगावाले नेपालमा पहिलोपटक पोल्न नपर्ने इँटा उत्पादन सुरु गरेको बताउँदै यसले वातावरण प्रदूषण नहुने र वातावरण सन्तुलनमा भूमिका निर्वाह गर्ने बताए । यस कम्पनीले उत्पादन गरेको इँटा भवन निर्माणका लागि भरपर्दो रहेको बताउँदै जापानमा लोकप्रिय भइरहेको यो प्रविधि बङ्गलादेशमा पनि सुरु भएको बताए । यो इँटा उत्पादनले दुई वर्षअघि महाभूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणका लागि सहयोग पुग्ने बताउँदै उहाँले नेपालमा यो प्रविधिले इँटा उत्पादन सुखद मात्रै नभई यसले नेपाल र जापानको सम्बन्धलाई प्रगाढ बनाउने बताए । कार्यक्रममा जापानको प्रख्यात कम्पनी इकेन प्रालिका अध्यक्ष हिडियाकी हाचियाले बुद्धको देशमा लगानी गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताए । रसायन प्रयोग गरेर इँटा उत्पादन गर्ने विश्वकै पहिलो उद्योग यही रहेको चर्चा गर्दै उहाँले यो इँटा उत्पादनले सरकारले वायु प्रदूषणमा नियन्त्रणमा गरिरहेको लगानीसमेत कटौती हुने दाबी गरे । उपत्यकामा रहेका इँटाभट्टाले यहाँ ३५ प्रतिशत वायु प्रदूषण गरिरहेको बताउँदै वातावरणमैत्री उद्योग स्थापनाले सामाजिक उत्तरदायित्वसमेत पूरा गर्ने बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०७४