काठमाडौं । पुँजी बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ । सेयर बजारमा अधिकतम हिस्सा ओगट्ने वाणिज्य बैंकहरुको सेयर खरिदबिक्रीमा लगानीकर्ता उत्साहित हुँदै गएको देखिन्छ । पछिल्ला दिनहरुमा एनएमबी बैंकले आकर्षक लाभांश प्रस्ताव गरेपछि बैंकिङमा लगानीकर्ता उत्साहित भएका थिए ।
यस्तै, एनआइसी एसियाको १ अर्ब नाफा कमाएको रिपोर्टलाई पनि लगानीकर्ताले सकारात्मक रुपमा हेरेका छन् । यही क्रममा सरकारी स्वामित्वको नेपाल बैंकले २ दशकपछि लगानीकर्ताका लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ । बैंकले २५% लाभांश घोषणा गरेपछि आम लगानीकर्ता थप उत्साहित भएका हुन् ।
लाभांशकै प्रभावरुवरुपः सोमबार यस बैंकको सर्वाधिक सेयर कारोबार समेत भएको छ । नेपाल बैंकमा लगानीकर्ता उत्साहित हुँदा अन्य कम्पनीमा समेत चहलपहल बाक्लो भएको छ । पछिल्ला गतिविधिहरुले पुँजी बजार सुधारको केही आशा पलाएको छ । कारोबार रकम निरन्तर वृद्धि हुँदै गएमा सकारात्मक अपेक्षा गर्न सकिन्छ ।
समग्रमा सूचीकृत कम्पनीहरुको नाफा बढेको छ । लाभांश अनुपात पनि सुधार भएको छ । धेरैजसोले बोनस र नगद मिलाएर दिएका छन् । यी सबै पक्षले सेयर बजारमा विस्तारै ठूला लगानीकर्ता पनि आकर्षित हुँदै गएको अनुमान छ । सेयर बजार ठूला र संस्थागत लगानीकर्ता सक्रिय नभएसम्म माथि जान गाह्रो हुन्छ ।
यतिबेला बजार सुधारको क्रममा छ । नीतिगत तथा कानुनी सुधारका कामहरु अघि बढिरहेका छन् । बजार प्रविधिमैत्री पनि बन्दैछ । यी समग्र परिदृश्यहरुले बजारको दीर्घकालीन भविष्यप्रति आशावादी गर्न सकिने प्रशस्त सम्भावना छ । नेप्से सूचक सोमबार ०.२४ अंकले घटेर ११३१.१२ विन्दुमा अडिएको छ ।
१६० कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ११ लाख ८८ हजार ८४५ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका १२ वटा समूहमध्ये ८ वटा समूहको सूचक बढेको छ । वाणिज्य बैंक समूह पनि हरियो बनेको छ ।
खरिदबिक्री रकममा नेपाल बैंक सबैभन्दा अग्रस्थानमा छ । यसको ८ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा एनएमबि बैंक परेको छ । यस दिन साल्ट ट्रेडिङ र घोडीघोडा लघुवित्तको सर्किट ब्रेकर लाग्ने गरी भाउ बढेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६