काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताएका छन् ।
मिडिया इन्टरनेसनल, काठमाडौँले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उनले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।
वैदेशिक विभागको पछिल्लो तथ्यांकमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ । रोजगारमा रहेका अधिकांश नेपाली युवामार्फत नेपालमा वार्षिक करिब ८ खर्ब रुपैयाँ विप्रेषण रेमिट्यान्स भित्रने गरेको छ ।
वित्तीय चेतना अभिवृद्धि पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ ।
प्रदर्शनी कक्षमा रहेका परामर्श दाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताए ।
सोमबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६