काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । चालु आर्थिक वर्षकाे त्रैमासिक तथ्यांक अनुसार नाफा कमाउने बैंकमा नबिल बैंक दोस्राेमा छ ।
सर्वसाधारणमा आइपीओ जारी नगरेको तथा अहिलेसम्म सबै स्वामित्व सरकारकै रहेको यस बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा एक अर्ब १२ करोड ७५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
नाफा गत वर्षको भन्दा ०.७५% धेरै हो । गत वर्ष बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दनी १२.९८% ले घटे पनि सञ्चालन नाफामा भने १.४४% को वृद्धि छ । असोज मसान्त सम्म वितरण योग्य नाफा भने १ अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी क्रमशः १४.१३% र १५.६७% ले बढाएको छ ।
वाणिज्य बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४३ पैसाबाट बढेर १२ रुपैयाँ ५२ पैसा कायम भएको छ । २८ वटा वाणिज्य बैंकमध्ये यो एउटा मात्रै सरकारको पूर्ण स्वामित्व भएको बैंक हो ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६