काठमाडौं । जापानले नेपालको सिँचाइ क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटवार्ता गर्दै सिँचाइ क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो ।
भेटमा तराई मधेसमा सञ्चालन भएका सिँचाइ आयोजनामा सहयोग गर्ने विषयमा छलफल भएको थियो । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामीको नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार मन्त्री पुनसँग सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटवार्ता गर्दै ऊर्जा र सिँचाइको क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेका हुन् ।
जापानी राजदूत मसामिची साइगोसमेत सहभागी बैठकमा सिँचाइ र जलविद्युत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । उपमहानिर्देशक नाकाडाले भेटमा कृषि, जलस्रोत र सिँचाइको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको धारणा राखे ।
भेटमा ऊर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।
मन्त्री पुनले सरकारले सिँचाइतर्फ ठूला आयोजना अघि बढाइरहेको, तराई मधेसमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी तयारी गरेको र पहाडमा लिफ्ट सिँचाइका लागि काम भइरहेको जानकारी दिए । जापानले कन्काई सिँचाइ आयोजनामा पुर्याएको सहयोगप्रति पनि धन्यवाद दिँदै सिँचाइको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताए ।
उनले जापान सरकारको सहयोगमा ऊर्जा मन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलो पटक अनुसन्धानका लागि २० करोड बजेट समेत बिनियोजन गरेको जानकारी दिँदै उक्त संस्थासँग सहकार्य गर्न पनि आग्रह गरे ।
त्यसैगरी सिँचाइ क्षेत्रमा जलउपभोक्ता समितिहरु सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।
भेटमा सिक्टा सिँचाइ परियोजनामा देखिएको घुलनशील माटोको समस्या देखिएको भन्दै समाधानका लागि समेत छलफल भएको थियो । मन्त्री पुनले जापानसँग समाधानका लागि कुनै उपाय भए सहयोग गर्न आग्रह गरे ।
भेटमा नलसिंहगाड जलविद्युत परियोजनाको बारेमा समेत छलफल भएको थियो । मन्त्री पुनले नलसिंहगाड जलविद्युत परियोजनामा जापानको लगानी र सहयोग हुने कुरामा नेपाल सरकार ढुक्क रहेको बताएका थिए ।
(याे समाचारमा यसअघि असान्दर्भिक फोटो पर्न गएकोमा क्षमाप्रार्थी छाैं । -सम्पादक)
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६