काठमाडाैं । ग्लोबल आईएमई बैँक र जनता बैँक नेपाल आपसमा मर्ज भएर संयुक्त काराेबार सुरु गर्ने भएका छन् ।
शुक्रबार काठमाडाैंमा मर्जरसम्बन्धी सम्झौतापत्रमा ग्लोबल आईएमई बैँकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैँक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरे ।
दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्ने छन् । यी २ बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ। हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले मर्जरपछि ग्लोबल आईएमई बैंक सबै भन्दा ठूलो बैंक भएकाले निकट भविष्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताए।
मर्जपछिको बैँकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ र जनताको तर्फबाट २ सदस्य रहने सहमति गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६