काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर १ हजार १३३.७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.७७ विन्दुले घटेर २४८.३५ विन्दुमा पुगेको छ ।
नेप्से आरोलो लागेसँगै काराेबार रकममा समेत गिरावट आएको छ । कुल १२८ कम्पनीको ४ लाख २१ हजार ४ सय ७४ कित्ता सेयर ११ करोड ३३ लाख ५९ हजार ९ सय ५६ रुपैयाँमा खरिद बिक्री भए । स्टकले धितोपत्र नविकरण शुल्क नबुझाएका कारण शुक्रबारदेखि कुल ८१ कम्पनीको सेयर काराेबारमा रोक लगाएपछि त्यसको प्रभाव बजारमा समेत परेको हो । नियमानुसार नविकरण शुल्क नबुझाएका कारण स्टकले ती कम्पनीको सेयर कारोबारमा रोक लगाएको हो ।
काराेबार भएका कुल ११ उपसमूहकै सेयर ओरालो लागेको छ । बैंकिङ ३.९३, होटल ५.७, विकास बैंक २.६६, जलविद्युत् २.०५, वित्त ०.३४, निर्जीवन बीमा १६.७३, उतपादन १३.३३, अन्य २.७२, लघुवित्त २.५५, जीवन बीमा २३.३७ र सामूहिक लगानी कोष ०.३१ विन्दुले घटेको छ ।
काराेबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको १ करोड नौ लाख ४६ हजार ७ सय ३६ रुपैयाँ बराबरको सेयर काराेबार भएको छ । यस्तै एभरेस्ट बैंक ७३ लाख ५४ हजार ६ सय, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५४ लाख ५१ हजार ४ सय ८९, एनआइसी एसिया बैंक ४८ लाख ५० हजार २ सय १, कृषि विकास बैंक ४५ लाख ८८ हजार ९ सय ७८ बराबरको सेयर काराेबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज एनआइबिएल प्रगति फन्ड ३.८४, सानिमा माई हाइड्रोपार ३.२१, एनआइबिएल फन्ड एक २.७१, सबैको लघुवित्त वित्तीय संस्था १.९९ र एनआइसि एशिया ग्रोथ फन्डका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।
यस्तै सिनर्जी पावर ५.३३, सिटी एक्सप्रेस फाइनान्स ४.३१, गुराँस लघुवित्त वित्तीय संस्था ३.६८, आँखु खोला जलविद्युत् कम्पनी ३.६८, प्राइम लाइफ इन्स्योरेन्स ३.४१ र हिमालयन डिस्ट्रिलरीका सेयरधनीले ३.१८ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६