२१ वैशाख, काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा १४ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ । उक्त बैंकले सो सेवाका लागि आवश्यक सफ्टवेयर निर्माणका लागि विसं २०७० तिर करिब रु १३ करोड सहयोग उपलब्ध गराएको थियो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका अनुसार काठमाडौँका कलङ्की, डिल्लीबजार र चाबहिल तथा ललितपुर, भक्तपुर, धादिङ काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, मोरङ, पर्सा, कास्की, बाग्लुङ र बाँकेमा अनलाइन सेवा उपलब्ध गराइएको छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सबै नागरिकको भरपर्दो सम्पत्तिका रुपमा रहेको घरजग्गाको व्यवस्थित सुरक्षाका लागि आगामी दिनमा अन्य जिल्लामा पनि सो सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीयतामा पनि घरजग्गाको कारोबारलाई केन्द्रले नै नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको जानकारी दिँदै नेपालमा पनि सोही नियमलाई प्रभावकारी रुपमा लागू गरिने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०७४