काठमाडौं । दसैँ, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिबल सपिङ मार्केट सुरु भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरिन् ।
मेला उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । मेला अवलोकन गर्दै कार्कीले व्यापार व्यवसायमा महिलाको सहभागिता व्यापक बन्दै गएकाले सरकारी जागिरको मुख ताक्नुपर्ने अवस्थामा न्यूनीकरण हुने अपेक्षा गरिन् ।
उनले नेपाली उत्पादनको प्रयोग गर्न आमनागरिकलाई आग्रह गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सबैलाई आग्रहसमेत गरिन् ।
‘अफरै अफरको व्यापारिक भेला, सपिङ गर्ने यही हो बेला’ भन्ने नाराका साथ सुरु भएको फेस्टिबल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, खाद्यान्न, छालाका उत्पादन, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामग्रीका सयभन्दा बढी स्टल छन् ।
चाडपर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामग्री एकै छानामुनि सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेन्ट सोलुसन प्रलिले फेस्टिबल मार्केट सुरु गरेको हो । फेस्टिबल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई उपहार प्रदान गरिने छ । दैनिक रुपमा आकर्षक उपहार वितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिने छ ।
राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिबल सपिङ मार्केट सञ्चालन गरिएको इभेन्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले बताए ।
मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समूहअन्तर्गतका ४ वटा नेपाली ब्रान्डको विशेष सहभागिता छ ।
काठमाडौं उद्योग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोको प्रवर्द्धन गरेका छन् । मार्केट आगामी १३ गतेसम्म सञ्चालन हुने छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६