गाेरखा । नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ ।
गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालार्ई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न सुरु गरेको संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतले जानकारी दिए ।
संस्थानले यही भदौ २७ गते निणर्य गरी असोज २ गतेदेखि जिल्लामा सहुलियतको चामल बिक्री सुरु गरेको उनले बताए । निर्णय छिटो गरेको भए पनि खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट चामल मगाउनुपर्ने भएकाले ३/४ दिन ढिलो गरी बिक्री सुरु गरेका हौ , उनले भने, दसैँ तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेको बिक्री सुरु गरिएको हो ।
उनले आउँदो कात्तिक १६ गतेसम्म संस्थानको कार्यालयबाट उपभोक्तालाई सहुलियतमा चामल बिक्री गरिने जानकारीसमेत दिए । यो वर्ष चाडपर्वका लागि सहुलियतमा बिक्री गर्न तत्कालका लागि २ सय १० क्विन्टल चामल केन्द्रीय कार्यालयबाट स्वीकृत प्राप्त भएको छ , प्रमुख बस्नेतले भने, निर्धारित कोटाले अपुग भए थप चामल मगाउन सकिन्छ ।
संस्थानले अहिले जिरा मसिनो र सोना मनसुली गरी २ थरीको चामल बिक्री गर्दै आएको उनले बताए । दुवै प्रकारको चामलमा पहिलोको तुलनामा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्री सुरु गरेका छौं , प्रमुख बस्नेतले भने, प्रतिकिलो ४४ रुपैयाँमा बिक्री गर्दै आएको सोना मनसुली अहिले प्रतिकिलो ३९ र प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुँदै आएको जिरा मसिने चामल अहिले प्रतिकिलो ५५ रुपैयाँमा बिक्री गरेका छौं ।
संस्थानले बिक्री गरेको चामल बजारको मूल्यको तुलनामा सस्तो रहेको उनको भनाइ छ । संस्थानले सबै उपभोक्तालाई सहुलियत दरमा चामल उपलब्ध गराउने जनाएको छ । उपभोक्ताको मागअनुसार नै चामल उपलब्ध गराउने संस्थानको योजना छ , उनले भने, माग बढी नै भयो भने फेरि केन्द्रलाई आग्रह गरे थप कोटा स्वीकृितका लागि पत्र पठाउँछाैँ । बजारको मूल्यभन्दा सस्तो दरमा संस्थानले चामल उपलब्ध गराएपछि बिक्री राम्रो हुन थालेको प्रमुख बस्नेतको भनाइ छ । रासस
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६